चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको गुटबन्दी क्यान्सर रोगभन्दा बढी घातक रहेको टिप्पणी गरेका छन् । नेकपा रत्ननगर नगर कमिटीले शुक्रबार आयोजना गरेको जनप्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा उनले पार्टीभित्र मौलाउँदै गएको गुठबन्दीले कसैको हित नगर्ने बताए ।

पार्टीभित्र नेतृत्व चयनका लागि हुने चुनावका कारण गुटबन्दी सृजना हुने गरेको भन्दै त्यसको व्यवस्थापनको लागि तेस्रो बाटो अवलम्बन गर्नुपर्ने उनले बताए ।

उनले समाजवादी कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्न स्थानीय सरकारका प्रतिनिधिहरुलाई आग्रह गरे । बालबालिकालाई शिक्षा, बिरामीलाई उपचार, घरविहीनलाई घर र वृद्धवृद्धाका लागि भत्ता दिने पार्टीले गरेको घोषणाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले जनप्रतिनिधि र पार्टी एकसिकाका दुई पाटाजस्तै भएकाले सहकार्य गरेर काम गर्नुपर्ने बताए । उनले अहम्लाई एकतिर राखेर जनचाहनाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरवासीको अपेक्षाअनुसारको काम आफूले अगाडि सारे पनि पार्टीभित्रैबाट अपेक्षाकृत सहयोग नपाएको गुनासो गरे । यस्तै, उपमेयर विमला दुवाडीले नगरपालिकाले गरेको राम्रो कामलाई राम्रो भन्न र गलत भए सजग गराउनसमेत आग्रह गरिन् ।

कार्यक्रम नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया