चितवन- पूर्वी चितवनको रत्ननगर २ टाँडी बजारमा मुख्य कार्यालय रहेको कामना बचत तथा ऋण सहकारी संस्थाले खैरहनी पर्सामा सेवा केन्द्र विस्तार गरेको छ ।
सेवा केन्द्रको खैरहनी नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामशरण पाण्डेले उद्घाटन गरेका थिए । सो अवसरमा उनले सहकारीले विपन्न वर्गलाई धनी बनाउने योजनाका साथ काम गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले विपन्न शेयर सदस्यको जीवनस्तर उकास्नेदेखि व्यवसाय प्रर्वद्धन गर्नेसम्मका कार्यक्रमलाई आत्मसात् गरेर सहकारीले काम गरिरहेको बताए ।
उनले उद्योग र व्यापार प्रर्वद्धनका लागि खैरहनीका सामाजिक अगुवाहरुसँग छलफल गरी नीति, नियम र विनियम बनाएर काम गर्ने योजना रहेको बताए ।
कार्यक्रममा खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, पर्सा सेवा केन्द्र प्रमुख बद्री ढकाल, सहकारीका सचिव सूर्यप्रसाद लामिछाने, लेखा समिति संयोजक सन्दीप बर्राकोटीलगायतले मन्तव्य राखेका थिए ।

२०६५ सालमा स्थापना भएको सो सहकारीका २ हजार ९४७ जना शेयर सदस्य रहेका छन् । बहुमुखी उपभोक्ता सहकारीसँग एकीकरण गरी कृषि विकासमा समेत काम गर्दै आएको सो सहकारीको शेयर पुँजी ३ करोड २८ लाख, कुल बचत १३ करोड र ऋण लगानी १५ करोड रुपैयाँ रहेको संस्थाका व्यवस्थापक ओमप्रकाश गुप्ताले जानकारी दिए ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक गुरुप्रसाद अधिकारी, कोषाध्यक्ष टेकनाथ अधिकारी, कार्यसमिति सदस्य झनक पौडेल, शिक्षा उपसमिति संयोजक यादवराज सिलवाललगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया