-अजित अधिकारी
चितवन- माडी नगरपालिका ५ स्थित बसन्तपुर बजारमा रहेको होटल प्याराडाइजमा हामी सबैको प्रण सार्वजनिक प्रणालीकरणको सबलीकरण शैक्षिक गुणस्तर सुधारका लागि बृहत् शिक्षा सम्मेलन भन्ने मूल नाराका साथ आज होटल प्याराडाइजमा कार्यक्रम सम्पन्न भएको छ ।
माडीको शिक्षा क्षेत्रको विकास र गुणस्तरको लागि माडीको शिक्षा क्षेत्रमा देखिएका समस्या र चुनौतीका विषयक कार्यक्रममा बहस र छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै समग्र शिक्षा क्षेत्रको विकासको लागि आफ्नो निरन्तर अथक प्रयास रहेको बताए । उनले शिक्षा क्षेत्रमा देखिएको राजनीतिलाई अन्त्य गर्न र शिक्षा क्षेत्रलाई सबल र सुदृढीकरण बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री पोख्रेलले माडीको शिक्षा क्षेत्रको विकासको लागि माडीका वामपन्थी नेता स्व दिवाकर भूषालको नामबाट स्थापित दिवाकर बहुप्राविधिक शिक्षालयको स्थापनाले माडीको शिक्षा क्षेत्रको विकासको लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले दिवाकर बहुप्राविधिक शिक्षालयलाई देशकै नमुना शिक्षालयको रुपमा विस्तार गर्न लागिएकोसमेत बताए ।
शिक्षा क्षेत्रको विकास र समान शिक्षाको लागि के कस्तो राज्यबाट प्रावधान र विकास हुँदैछ भन्ने पत्रकारहरुको प्रश्नमा शिक्षामन्त्री पोख्रेलले नेपालमा व्यवस्थित खालको शिक्षा नीति र नितिको आधारमा संघ र प्रदेशले आफ्ना ऐनको आधारमा जानुपर्ने र देशमा रहेका सरकारी स्कुल, प्राइभेट र सहकारीहरूबाट चल्ने विद्यालयहरु सबैको व्यवस्थित गर्नुपर्ने तर्क गरे ।
उनले विसं २०८५ सालमा नेपालमा आधारभूत तहसम्मको शिक्षा नलिने नागरिकहरुले स्थानीय सरकारको सेवासुविधामा रहेको बैँकहरुमा खाता खोल्नसमेत नपाइनेजस्ता ऐनहरुको विकास र कार्यान्वयन गराउन लागिएकोसमेत बताए ।
उनले प्रत्येक विद्यालयहरुले शिक्षा क्षेत्रको विकास गराउनको लागि ६० दिनको फरकमा शैक्षिक छलफल र अन्तरक्रिया गरिनुपर्ने धारणा राखे । होटल प्याराडाइजमा आज भएको शैक्षिक अन्तरक्रिया कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँबर, माडी नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रवीन भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई चितवन प्रमुख भूमिलाल सुवेदी, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललगायत छवटै नगरपालिकाका शिक्षा प्रमुखहरु, मेघा माविका प्रधानाध्यापक गंगाधर हाडा, नारायणी माविका प्रधानाध्यापक पूर्ण दवाडी, शिक्षाका लागि राष्ट्रिय अभियानका संयोजक अभिषेक घिमिरेलगायत माडीका विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि एवम् विभिन्न शिक्षण सस्थामा कार्यरत शिक्षक प्रतिनिधि, र विभिन्न माडीका वडाका वडा प्रतिनिधि एवम् सञ्चारकर्मी, र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
माडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव पुष्प ढकालले सञ्चालन गरेको कार्यक्रम माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।