चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ लाई यही फागुन ६ गते बालमैत्री वडा घोषणा गरिने भएको छ ।

बालमैत्री वडा हुनका लागि आवश्यक ३९ वटा सबै सूचकहरु पूरा गरेपछि बालमैत्री घोषणा गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष हरिकुमार श्रेष्ठले बताए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुने घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पनि वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जन्मदर्ता, बालविवाह, संरक्षित बालबालिकाहरुको व्यवस्थापन, विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई नियमित गराउने, विद्यालयहरुमा बालमैत्री संरचना निर्माण गर्ने, बाल उद्यान निर्माण गर्नेलगायत सबै काम पूरा भएकाले बालमैत्री घोषणा गर्न लागिएको हो । वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा कुनै पनि बालबालिका श्रमिकका रुपमा कार्यरत छैनन् ।

बालमैत्री वडा घोषणाकै लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका र वडा कार्यालयले वडाभित्रका विद्यालयको भवन निर्माण, परिसर निर्माणका लागि यो वर्ष ३१ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।

बालमैत्री वडा घोषणाका लागि विभिन्न आठवटा उपसमितिहरु गठन गरि काम भइरहेको वडा सचिव बासुदेव रिजालले बताए । बालमैत्री वडा घोषणाका लागि तयारी स्वरुप शनिबार नै वडाका सरोकारवालाहरुसँग छलफल तथा राय संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया