
चितवन- आगामी फागुन ८ गतेदेखि भरतपुर बसपार्कमा प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सवको तयारी सुरु गरिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सव स्थलमा प्रवेशद्वार निर्माण तथा स्टल निर्माणको काम सुरु गरिएको छ ।
पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रर्वद्धन गर्न भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव २०७६’ गर्न लागिएको महोत्सवका संयोजक श्याम पौडेलले जानकारी दिए ।
फागुन ८ देखि १९ गतेसम्म हुने मेलामा औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सांस्कृतिक प्रस्तुति रहने पौडेलको भनाइ छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिने उनले बताए ।
स्थानीय उत्पादनको प्रवद्र्धन र टेवा पुग्ने उद्देश्यले पोल्ट्री जन्य उत्पादन तथा उपकरणका स्टलहरुलाई स्टल भाडामा ५० प्रतिशत छुट, सामुहिक पशुपालन, सामुहिक खेती गर्ने स्टलमा ५० प्रतिशत छुट र अन्य कृषि उत्पादनका स्टलको लागि स्टलमा १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकको भनाइ छ ।
महोत्सवमा स्टल बुकिङका लागि महोत्सव आयोजना हुने स्थल केन्द्रीय बस टर्मिनलमा नै सचिवालय समेत निर्माण गरेर काम अगाडि बढाइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तथा पर्यटन प्रर्वद्धनका लागि महोत्सव परिसरमा विश्व सम्पदा एवं रामसार सूचीमा रहेको बीसहजारी तालको नमूना बनाई निकुञ्जका जनावर एवं पक्षीका आकृतिका मूर्तिहरु राखिने पौडेलले बताए ।
महोत्सवमा २५० भन्दा बढी व्यावसायिक एवं सामाजिक स्टल रहनेछन् । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रर्वद्धन र केही रकम निमार्णाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध रंगशालालाई समेत प्रदान गर्ने लक्ष्य छ ।