चितवन- नेपालमा जन्मिएर जापानलाई कर्मथलो बनाएकी सरस्वती सापकोटाले शनिबार पूर्वी चितवनको रत्ननगर ११ स्थित मंगलपुरमा रहेको गामबेँसी चेपाङ संरक्षण केन्द्रमा आश्रित १६५ जना चेपाङ बालबालिकाका साथ सहभोज गर्दै एक सातालाई पुग्ने खाद्यान्न सहयोग गरेकी छन् ।

लामो समयदेखि प्रवासमा रहेकी सापकोटाले आफ्नी स्वर्गीय आमा कृष्णकुमारी भण्डारीको स्मृतिमा परिवारसहित केन्द्रमा पुगेर एक दिनको सहभोजसँगै खाद्यान्न सहयोग गरेकी हुन् । सो अवसरमा उनले एक सातालाई पुग्ने गरी ५० हजार रुपैयाँबराबरको खाद्यान्न सहयोग केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा केन्द्रमा सापकोटाका बुबा नेत्रप्रसाद भण्डारी, श्रीमान् मुरारी सापकोटा, सुसन सापकोटालगायतको उपस्थिति रहेको थियो । केन्द्रका सल्लाहकार एवं प्रसिडेन्ट रेस्टुरेन्टका प्रबन्ध निर्देशक शंकर भण्डारीको संयोजनमा आफूहरुले विभिन्न समयमा सहयोग प्राप्त गर्दै आएको केन्द्र अध्यक्ष केपी किरण शर्माले बताए ।

उनले देशविदेशमा रहने सहयोगी मनहरुका कारण चेपाङ संरक्षण अभियान सार्थक बनेको बताउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया