चितवन- पूर्वी चितवनको रत्ननगर–१, निपनीस्थित लाइसियम इन्टरनेसनल मोडल स्कुलमा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गरिँदै आएको छ ।
गत पुसमा सञ्चालित दुई दिवसीय प्रशिक्षणमा सिकाइएका कलालाई पुनरावलोकन गर्दै फागुन ३ गते शनिबार छात्राहरुलाई कराँतेका विभिन्न कला तथा जुडोका कलाहरुबारे प्रशिक्षण दिइएको छ ।

कुनै पनि सम्भाव्य खतराबाट कसरी आफू सतर्क रहने र कोही आइलागेमा, कसैले समातेमा कसरी उसको पञ्जाबाट फुत्कने भन्ने कलाका साथै उसलाई कसरी प्रहार र परास्त गर्ने भन्ने सम्बन्धमा नेपाल प्रहरीका कराँते प्रशिक्षक कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको आवश्यकता र प्रभावकारिताबारे प्रकाश पार्दै विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले समाजमा महिला तथा बालबालिकाहरु असुरक्षित रहेको र जुनसुकै समयमा पनि हिंसाको सिकार बन्न सक्ने सम्भावनालाई मध्येनजर गरी विद्यालयमा अध्ययनरत छोरीहरुको मनोबल उच्च बनाउँदै सुरक्षित बनाउन प्रशिक्षण आयोजना गरिएको बताए । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उनले बताए ।
प्रशिक्षणमा सहभागी बालिकाहरुले आफ्नो स्कुलमा जीवनोपयोगी शिक्षा सिक्न पाएकोमा खुसी व्यक्त गर्दै उत्साहित भई सहभागिता जनाउँदै आएको र प्रशिक्षणबाट आफूहरुमा हिम्मत बढेको अभिव्यक्ति दिए ।

तपाईको प्रतिक्रिया