
चितवन- पूर्वी चितवनको रत्ननगर ६ स्थित बछौली माविमा अध्ययरत २६० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ ले स्थानीय सरकारको प्रत्याभूति दिलाउन सञ्चालन गरेको कार्यक्रमअन्तर्गत २६० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरिएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिका शिक्षा शाखा प्रमुख बद्रीनारायण शर्मा र रत्ननगर ६ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम दाहालले संयुक्तरुपमा विद्यार्थीहरुलाई ट्र्याकसुट हस्तान्तरण गरेका हुन् ।
बालबालिकालाई जाडोबाट जोगाउन कक्षा १ देखि ९ सम्मका गरिब तथा विपन्न विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरिएको वडाध्यक्ष दाहालले बताए । उनले आफ्नो वडाले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन शिक्षा र स्वास्थ्यमा जोड दिइएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले विद्यालय शैक्षिक अवस्थाका विषयमा प्रकाश पारेका थिए । यसअघि माघ २९ गते पनि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई ट्याक सुट प्रदान गरिएको थियो ।
वडा कार्यालयले बछौली माविको शैक्षिक स्तर वृद्धिका थालनी गरेको अभियानअन्तर्गत यस वर्ष विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको हो ।