चितवन- चितवनको भरतपुर १० अस्पतालरोडमा रहेको चितवन एभरेष्ट अस्पताल प्रालिले आइतबार रंगशाला निर्माणस्थलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेसनको संयोजनमा जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा सहभागी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका अध्यक्ष भरतराज रेग्मीले जानकारी दिए । रंगशालामा कार्यरत ज्येष्ठ कर्मचारीको स्वास्थ्य परीक्षण गरी अस्पतालका संचालक एवं प्रबन्ध निर्देशक डा नवराज लामिछानेले शिविरको उद्घाटन गरेका थिए ।
शिविरमा एभरेष्ट अस्पतालका संचालक एवं प्रबन्ध निर्देशक लामिछाने, डा सुरेन्द्र सिग्देल, नर्सिङ इन्चार्ज कोपिला रेग्मी, अस्पताल संचालक एवं ल्याब प्रमुख अशिम श्रेष्ठ, ल्याब टेक्निसियन पवन राई, विकाश श्रेष्ठ, नर्स रस्मिता पोखरेल, दीपा बस्नेत, सविना पोखरेललगायतका स्वास्थ्यकर्मीहरुले रंगशाला निर्माणमा खटिएका कर्मचारी एवं कामदारहरुको स्वास्थ्य परीक्षण गराएका थिए ।
रंगशालामा अस्पतालले पनि केही योगदान र सहयोग गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको अस्पतालका संचालक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । अस्पतालको तर्फबाट आयोजना गरिएको शिविरले रंगशाला निर्माणमा थप सहयोग पुग्ने अर्का संचालक अशिम श्रेष्ठले बताए ।
शिविरमा १४४ जना कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष भरतराज रेग्मीले जानकारी दिए । शिविरमा रोयल फर्मास्युटिकल्स प्रालिले औषधि सौजन्य गरेको थियो ।