अजित अधिकारी
चितवन- माडी नगरपालिका ३ बसन्तपुरबजारस्थित खुल्ला खेलमैदानको प्राङ्गणमा आगामी फाल्गुन ७ गतेदेखि दिवाकर भुसाल स्मृति क्लब च्याम्पियनसिप दोश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७६ को शुभारम्भ हुने भएको छ ।

माडी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा राष्ट्रियस्तरका चर्चित नेपाली खेलाडीहरुको टिमको सहभागिता रहने छ ।

जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, बागमती प्रदेश, गण्डकी प्रदेश, २ नं प्रदेश, कृष्णपुर खेलकुद विकास समिति चितवन र सहारा सुपर मार्केट सौराहा गरी जम्मा कुल ८ वटा टिमको सहभागिता रहने नगर खेलकुद विकास समिति माडीका अध्यक्ष रामबन्धु पोख्रेलले नेपालीको आवाज डटकमसँग बताए ।

उनले फाल्गुन ७ गतेदेखि सुरु हुने भलिबल प्रतियोगितामा पहिलो पुरस्कार रु २ लाख दोस्रो पुरस्कार रु १ लाख तेस्रो पुरस्कार रु ५० हजार र सान्त्वना पुरस्कार रु २५ हजार रहेको बताए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको चयन विभिन्न विधामा रहेर चयन गरिने आयोजकले जनाएको छ । सो भलिबल प्रतियोगिता फाल्गुन ११ गतेसम्म चल्नेछ । प्रतियोगितामा कुल खर्च १५ लाख लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया