काठमाडौँ- निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

संसद् सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर हो । अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भए पनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए । महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।

उनले संसद् पदबाट भने राजीनामा दिएका छैनन् ।

तपाईको प्रतिक्रिया