चितवन- चितवनको पर्यटकीय सम्भावना बोकेको परेवाकोटको विकासका लागि पर्यटन महोत्सव आयोजना गरिने भएको छ । परेवाश्वरी सामुदायिक वन उपभोक्ता समूह, लोथर मध्यवर्ती उपभोक्ता समिति, युवा जागृति क्लब लोथर र बुलबुल इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिको संयुक्त आयोजनामा प्रथम परेवाकोट पर्यटन महोत्सव सुरु हुन लागेको हो ।
महोत्सव मूल समारोह समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन २१ गतेदेखि चैत १ गतेसम्म महोत्सव गर्न लागेको जनाएको छ ।
नेपाल भ्रमण वर्ष-२०२० लाई केन्द्रित गर्दै समग्र राप्ती नगरको पर्यटन, आर्थिक, सामाजिक विकासमा सहयोग गर्ने, परेवाकोटलगायत नगरको पर्यटकीय स्थलहरु कामिनचुली, नागदह, भाष्माणी ताललगायतलाई समेत परिचित गराउने उद्देश्यले महोत्सव गर्न लागिएको मूल समारोह समिति संयोजक सानुबाबु बर्तौलाले जानकारी दिए ।
महोत्सवमा गिठ्ठाको प्रर्वद्धनका लागि गिठ्ठाको मःम र लोपोन्मुख सिस्नुको विशेष परिकार, युवा वैज्ञानिक सरोज प्रजाले आविस्कार गरेको कार तथा प्यारामोटरको प्रदर्शनी, परेवाकोटमा जीप सफारी, घोडा सयर र आकर्षक सेल्फी खिच्ने अवसर प्रमुख आकर्षणको रुपमा रहने उनले बताए ।
महोत्सवमा १०० भन्दा बढी व्यावसायिक स्टल रहने पनि सो अवसरमा अवगत गराइएको थियो । करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवबाट ७० लाख आम्दानी हुने र ५० लाख खर्च हुने अनुमान गरिएको आयोजक संस्था बुलबुल इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिका अध्यक्ष एवम् स्टेरिङ कमिटी सदस्य ज्ञानेन्द्र तामाङले बताए ।
पत्रकार सम्मेलनमा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्ती १ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तान, लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्वोलगायतले ओझेलमा परेको परेवाकोटलाई प्रचारप्रसार गर्न महोत्सवले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।