अजित अधिकारी
चितवन- माडी नगरपालिका-३ स्थित सिमरामा शौचालय निर्माणका लागि रोटरी क्लब अफ नारायणगढले सोमबार माडीस्थित सिमरामा एक कार्यक्रमबीच एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष कुजिया पाबेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् । विशिष्ट अतिथिको रुपमा रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, र माडी पर्यटन विकास समितिका अध्यक्ष एवम् वडा नं ३ का वडाध्यक्ष पुरन महतो रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि महतोले सिमरावासी जनताले भोग्नु परेका समस्याहरुलाई स्मरण गर्दै सिमरावासी जनताको हकहित, अधिकार र विकासको लागि सबै मिलेर लाग्नुपर्ने बताइन् ।

उनले सिमरा क्षेत्रमा आजको दिनसम्म बिजुली बत्ती नपुगेको अवस्थालाई समेत स्मरण गर्दै रिउ खोलामा झोलुङ्गे पुल र वर्षाको समयमा सिमरावासीलाई जोगाउनको लागि सिमराको माथिल्लो भेगमा करिडोर अर्थात् ड्याम निर्माण गर्नको लागि रु ५० लाख रकम विनियोजनसमेत भएको बताइन् ।

उपप्रमुख महतोले खानेपानी र शौचालय निर्माण भएकोमा खुशी व्यक्त गर्दै सिमरावासी जनताको हितको लागि रोटरी क्लब अफ नारायणगढले गरेको कामको उच्च मूल्यांकन गर्दै जनताको सेवामा निरन्तररुपमा रोटरी क्लब अफ नारायणगढले समाज विकासको लागि खेलेको भूमिका समाज र देशकै लागि सराहनीय रहेको बताइन् ।

विशिष्ट अतिथि रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले चितवनलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि चितवनका कतिपय विकट क्षेत्रहरुमा आजसम्म शौचालय निर्माण हुन नसकेको तर्क गरे ।

उनले शौचालयको अभावका कारण हुने समस्या र जथाभावीरुपमा हुने दिसा पिसाबले समाजमा महामारी रोग निम्त्याउन सक्ने हुँदा माडीको विकट क्षेत्रको रुपमा रहेको सिमरामा शौचालयको अभाव रहेको कारण शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको बताए ।

उनले अहिलेसम्म ६८ वटा घरपरिवार अर्थात् घरधुरीलाई हस्तान्तरण गर्न लागिएको ४० वटा शौचालयको निर्माणमा ११ वटा रोटरी क्लब अफ नारायणगढ, यसैगरी ११ वटा वाइन टु वाटर अमेरिकन संस्था र १८ वटा माडी नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको बताए ।

सोमबार भएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा रोटरी क्लब नारायणगढको तर्फबाट पूर्वअध्यक्षहरुमा रमेश श्रेष्ठ, चुननारायण श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, प्रथम उपाध्यक्ष अरुणकुमार खनाल, द्वितीय उपाध्यक्ष भोलानाथ लामिछाने, र सचिव यशमुनि बज्राचार्य, माडी बसन्तपुरबजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बराल, उद्योग वाणिज्य संघ माडीका सदस्य कमल रामदामलगायतका माडीका विभिन्न वडा प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संगीता घतानेले संचालन गरेको कार्यक्रम सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष कुजिया पाबेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया