
ध्रुवराज लामिछाने
चितवन- गैँडाकोट ८ नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र विस्तार गर्ने क्रममा रत्ननगरको सौहार्द साकोससँग एकीकरण गरेको छ ।
सोमबार किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद नेपालले सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा पाँच कन्याहरुलाई बालबचत खाता सञ्चालन गरी पासबुक उपलब्ध गराइएको थियो ।
कार्यक्रममा सौहार्द सेवा केन्द्रका इन्चार्ज भरत पौडेलले देशकै सर्वोत्कृष्ट संस्थाका रुपमा एसेस ब्राण्ड प्राप्त सफल किसान साकोससँग एकीकरण गरी सेवा सञ्चालन हुनु गर्वको विषय भएको बताए । सौहार्द सेवा केन्द्रबाट विशिष्ट सेवा सञ्चालन हुनु सबै सदस्यका लागि खुसीको कुरा भएको नेपालीको आवाज डटकमसँग बताए ।
संस्थाका सीईओ नवीन सापकोटाले किसान साकोस २० वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको बताउँदै संस्थाको कुल कारोबार एक अर्ब ८५ करोड रुपैयाँ रहेको जानकारी दिए । संस्थाले एम्बुलेन्स सेवासमेत सुचारु गरेको बताउँदै सदस्यहरुलाई नारायणी सामुदायिक हस्पिटलमा १७ प्रतिशत छूट सुविधालगायत अन्य सदस्यलक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न २४ वटा सहकारीसँग एकीकरण गरी सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । सो संस्थाले प्रदेश ३, ४ र ५ मा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
सो संस्थाले ३६५ दिन नै सेवा प्रदान गर्दै आएको छ । यस्तै, मोबाइल बैंकिङ, एक लाखसम्मको निःशुल्क दुर्घटना बिमा, निःशुल्क एबीबीएस सेवा, २० हजार रुपैयाँको पारिवारिक राहत कोष, आकस्मिक ऋण व्यवस्था, जुनसुकै देशबाट पठाएको रकम तुरुन्त पाइने, नेपालको जुनसुकै ठाउँमा रकम पठाउन र प्राप्त गर्न सकिने, मोबाइल, डिस होम, एडीएसएल, टेलिफोनमा रिचार्ज सुविधा, विद्युत् तथा पानीको भुक्तानी सुविधा, सुत्केरी भेटघाट तथा सदस्य सम्मान कार्यक्रम, लघुवित्त कार्यक्रमलगायतका सेवासमेत सञ्चालन गर्दै आएको साकोसका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए ।
सो संस्थाले छिट्टै पवित्र धार्मिकस्थल देवघाटमा समेत सप्तगण्डकी सेवा केन्द्रका नाममा सेवा सञ्चालन गर्ने जनाएको छ । सेवा शुभारम्भ कार्यक्रममा केन्द्रीय समिति र सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, विभिन्न उपसमिति, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।