
काठमाडौँ- बालुवाटार जग्गा बिक्री प्रकरणमा अख्तियारले सरकारको छायाँमा बनेर काम गरेको भन्दै कांग्रेस सांसद् गगन थापाले व्यङ्ग्य गरेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी व्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि व्यङ्ग्य गरेका हुन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेलमाथि व्यङ्ग्य गरेका हुन् । उनले स्वस्थानी व्रतकथाकै शैलीमा व्यङ्ग्य गरेका हुन् ।
उनले भने, कुमारजी आज्ञा गर्नुहुन्छ । हे विष्णुमुनी । अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नू, थाहा पाइहाले होइन, होइन भन्नू, चित्त बुझाउन नसकेर अप्ठ्यारोमा परे हत्तपत्त सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू, त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नू, त्यसको प्रभावले तिम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इति अख्तियार पुराणे कुमार विष्णु संवादे । स्वस्थानी व्रत कथायं । बालुवाटार प्रकरणम् वर्णनाम् प्रथम अध्याय…. धन्यवाद ।