चितवन- चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । आवश्यक ३९ वटा सूचकहरु पूरा गरी वडालाई मंगलबार बालमैत्री घोषणा गरिएको हो ।

पूर्वअर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा एक समारोहका बीच बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको थियो । प्रमुख अतिथि पूर्वअर्थमन्त्री पाण्डेले वडाध्यक्ष हरिकुमार श्रेष्ठलाई घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेबार बन्नुपर्ने बताए । बालमैत्री घोषणासँगै चुनौती थपिएकाले कुनै पनि बहानामा बालबालिकाहरु शोषणको चपेटामा पर्न नहुने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री पाण्डेले सरकारी विद्यालयमा शिक्षाको चुनौती रहेको भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । प्रदेश सांसद् कृष्णप्रसाद खनालले पूर्ण बालअधिकारसहितको नगरमात्र नमुना नगर बन्ने बताए । कार्यक्रममा मेयर नारायण वनले रत्ननगरलाई निकट भविश्वमै बालमैत्री घोषणा गरिने बताए ।

उनले नगरभित्रका बालबालिकाको शिक्षालाई प्रभावकारी बनाउन सामुदायिक विद्यालयलाई बलियो बनाइने बताए । कार्यक्रममा वडाध्यक्ष हरिकुमार श्रेष्ठले बालबालिकालाई श्रममा लगाउनेलाई कानुनी कारबाहीसँगै सामाजिक बहिस्कार गर्ने बताए ।

उनले घोषणा कार्यान्वयनको लागि तीनवर्षे रणनीतिक योजना बनाइएको बताए । कार्यक्रममा वडा सदस्य तथा वाल संरक्षण समितिकी सदस्य गीता दाहालले बालमैत्री वडा घोषणाको लागि गरिएका कामको प्रगति वितरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघले वडास्तरीय बाल क्लबलाई खेलकुदका सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुले बालश्रमविरुद्ध सामूहिक हस्ताक्षरसमेत गरेको बालसंरक्षण समितिकी सदस्य तथा मञ्च व्यवस्थापन समितिकी संयोजक विष्णु भण्डारी कट्टेलले जानकारी दिइन् ।

कार्यक्रममा पूर्वसांसद् एकनाथ रानाभाट, शेषनाथ अधिकारी, उपमेयर विमला दुवाडी, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, सेवा प्रदायक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेकपाका बासु लामिछाने, नेपाली काँग्रेसका रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडास्तरीय बाल क्लवका अध्यक्ष सहज खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा सचिव वासुदेव रिजालले सञ्चालन गरेका थिए । घोषणा सभा सुरु हुनुपूर्व जनजागृति माविबाट विशाल शोभायात्रा निकालिएको थियो ।

तपाईको प्रतिक्रिया