अजित अधिकारी
चितवन- माडी नगरपालिका ३ स्थित बसन्तपुर बजार निवासी माडीका चर्चित समाजसेवी एवम् सफल निर्माण व्यवसायी दामोदर बस्यालको स्मृतिमा मंगलबार एक कार्यक्रमबीच शोकसभा सम्पन्न भएको छ । बस्याल सानै उमेरदेखि मेहनती र सहयोगी भावनाका थिए ।
माडीमा समाजसेवीको रुपमा परिचित बस्याल बसन्तपुर बजारका पूर्व व्यवस्थापन समितिका अध्यक्षसमेत भएका थिए । नेकपा माडी नगर कमिटी, बसन्तपुर बजार व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौडा, महेश्वरी बचत तथा ऋण सहकारी संस्था, फेन्सी तथा कपडा व्इवसायी संघ माडीको संयुक्त आयोजनामा शोकसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद् गंगा बेल्बासे, नेकपा बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकाल, नेपाली काँग्रेस चितवनका जिल्ला सदस्य शोभाखर चापागाईंलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
शोकसभा कार्यक्रममा बोल्ने व्यक्तित्वहरुले भावुक हुँदै स्व बस्यालले समाज विकासको लागिगरेको योगदानलाई स्मरण गर्दै, उनले समाज विकासको लागि देखाएको बाटो र उनको सपना पूरा गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए ।
बस्यालले समाज विकास र रुपान्तरणको लागिगरेको योगदान सधैँ जीवन्त रहने र उनले नेपाली राजनीीतको क्षेत्रमा खेलेको भूमिका सम्मानजनक रहेकोसमेत बताएका थिए । कार्यक्रमा परिवारको तर्फबाट स्व बस्यालका दाजु भागिरथ बस्यालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
उक्त शोकसभामा स्व बस्यालका परिवारलाई मध्यवर्ती सहकारीले १० हजार, कृषक उपकार मञ्च भैरवपुरले १० हजार, महेश्वरी बहुउद्देश्यीय सहकारी संस्था खैरहनीले २० हजार र जन्मभूमि सहकारी संस्था रमाइलोडाँडाले २० हजार आर्थिक सहयोग गरेको छ ।
नेकपा माडी कमिटीका अध्यक्ष प्रभुप्रसाद महतोले स्व बस्यालको जीवनी पढेर वाचन गरेका थिए । बस्यालको जन्म विसं २०२५ साल असार २७ गते भएको हो । उनको विसं २०७६ माघ २७ गते मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।
शोकसभा कार्यक्रम बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।