
चितवन- दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप दोस्रो पुरूष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाली पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
बुधबार सम्पन्न पहिलो खेलमा बागमती प्रदेश क्लबलाई ३–० को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको हो । उद्घाटन खेलमा बागमती प्रदेश क्लबलार्ई २५–९, २५–१६ र २५–८ को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले विजयी गरेको हो ।
यस्तै दोस्रो खेलमा सहारा सुपर मार्केटलाई २५–१८, २५–१७ र २५–२० को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको हो ।
भलिबलमा प्रथम हुनेले नगद दुई लाख, दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार प्राप्त गर्ने आयोजक नगर खेलकुद विकास समिति माडी अध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिए ।
माडी ३ स्थित बसन्तपुर बजारमा रहेको खुल्ला खेलमैदानको प्राङ्गणमा बुधबार भएको कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य गंगा बेल्बासेले कार्यक्रमको उद्घाटन गरेकी हुन् । उनले खेल क्षेत्रको विकासको लागि माडी नगरपालिका र नगर खेलकुद विकास समिति माडीले गरेको अभियान खेलकुदका क्षेत्रमा सराहनीय रहेको बताइन्।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका खेलाडीहरुले विश्वभरी नेपालको पहिचान बढाउन सफल भएकोमा खुशी व्यक्त गरिन् ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशसभा सदस्य रामलाल महतो, माडी नगर प्रमुख ठाकुरप्रसाद ढकाल रहेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा माडी नगर उपप्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, पूर्व सांसद तीर्थराज भुसाल, नेकपा जिल्ला सदस्य एबम माडी नगर इन्चार्ज प्रेमराज तिमिल्सिनालगायतका जनप्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
दोश्रो दिवाकर च्याम्पियनसीप भलिबल प्रतियोगिताको समापन फागुन ११ गते हुने नगर खेलकुद विकास समिति माडीका अध्यक्ष रामबन्धु पोख्रेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।