काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएको बताएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा अनियमितता भएको भन्दै मन्त्री बर्खास्त नगरेसम्म संसद चल्न नसक्ने अडान राखेपछि सभामुख सापकोटाले यसबारे जानकारी गराएका थिए ।

सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । प्रतिनिसभा बैठकमा पनि कांग्रेस सचेतक भुसालले अनियमिततामा मुछिएका मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गरेकी थिइन् ।

बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।

तपाईको प्रतिक्रिया