चितवन- माडीमा आयोजित दिवाकर भूषाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप दोस्रो पुरुष भलिबल प्रतियोगितामा बिहीबार गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएका छन् ।

पहिलो खेलमा बाग्मती प्रदेश क्लबलाई ३–० को सेटमा पराजित गदै गण्डकी प्रदेश विजयी भएको हो । बिहीबारको पहिलो खेलमा बाग्मती प्रदेश क्लबलाई २५–१६, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गदै गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो ।

यस्तै, बिहीबार सम्पन्न दोस्रो खेलमा सहारा सुपर मार्केटलाई २५–१८, २५–२२ र २५–१२ को सेटमा पराजित गर्दै एपिएफ क्लब विजयी भएको हो । बुधबारदेखि सुरु भएको भलिबल प्रतियोगिता फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।

६ राष्ट्रिय भलिबल टिमको सहभागिता रहेको भलिबलको प्रथम स्थान हासिल गर्ने टोलीले नगद दुई लाखसहित आर्कषक ट्रफी प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तृतीय स्थान हासिल गर्नेले ५० हजार र सान्त्वना हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नगर खेलकुद विकास समिति माडी अध्यक्ष एवम् माडी नगरपालिका ५ वडाध्यक्ष रामबन्धु पोख्रेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया