चितवन- माडी नगरपालिका- ६ स्थित स्याउलीबासमा रहेको श्री नवदुर्गा भवानी मन्दिरमा आज शिवरात्रिको अवसरमा गणेश र शिवलिङ्गको मूर्ति स्थापना गरिएको छ । माडीको धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आज महाशिवरात्रिको दिन गणेश र शिवलिङ्गको मूर्ति स्थापना गरिएको श्री नवदुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सागर गोतामेले बताए ।

सोही अवसरमा माडीको धार्मिक एवम् ऐतिहासिक स्थलको महत्त्वबारे संचारका माध्यमबाट प्रचारप्रसार र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै नेपाली आवाज डटकमका माडी संवाददाता अजित अधिकारी र रेडियो वाल्मीकिमा कार्यरत पत्रकार सुजन सुवेदीलाई सम्मान गरिएको छ ।

रेडियो वाल्मीकिमा समेत कार्यरत पत्रकार अधिकारी माडीका सक्रिय पत्रकार हुन् । उनले माडी क्षेत्रको धार्मिक तथा ऐतिहासिक स्थलको समग्र रुपलाई सञ्चारको माध्यमबाट प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

जिल्लामा ओझेलमा परेको माडी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई जनमानसमा उजागर गरी आन्तरिक धार्मिक पर्यटनको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेकाले पत्रकार अधिकारी र सुवेदीलाई एकसाथ दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको श्री नवदुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सागर गोतामेले बताए ।

सो अवसरमा अध्यक्ष गोतामेले नेपाल पर्यटन वर्ष २०२० प्रर्वद्धनमा लागिपरेको अवस्थामा माडी क्षेत्रको विकासको लागि पत्रकारिताको माध्यमबाट सबै पत्रकारहरुले माडीमा रहेका धार्मिक क्षेत्रहरुको खोजी गरी प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याए ।

गोतामे माडी क्षेत्रमा चर्चित समाजसेवीका रुपमा परिचित छन् । उनले विविध सामाजिक र सांस्कृतिक कार्यक्रमहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया