
नवलपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छूट नदिने बताएका छन् ।
प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभएको हो ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उनलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको उनको भनाइ छ ।
उनले भने, “अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । गल्ती गर्नेलाई छूट दिने पक्षमा हामी छैनौँ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।”
अध्यक्ष प्रचण्डले अहिले चर्चामा रहेको एमसिसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले शुक्रबारमात्रै दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरु सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए । कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरुले अध्ययन गरिरहेको उनको भनाइ थियो ।
“एमसिसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ”, उनले भने, “यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पु¥याउनेछ ।”
अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताउँदै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख गरे ।
आउने दशक आमनेपाली युवाहरुलाई नयाँ युगतिर लैजाने दशक हुनेमा भरोसा गर्नसमेत उनले आग्रह गरे ।