चितवन- क्रिकेट खेलाडी सन्दीप लामिछानेले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरस्थित रामनगरमा निर्माणाधीन रंगशालाका लागि उनले ७० हजार रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।
सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिएबापतको रकम रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए । उनले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए ।
सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिएका थिए । सोही विकेट बराबरको रकम फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरिएको हो । सन्दीप रंगशाला निर्माणका सद्भावनादूत पनि हुन् ।