चितवन- भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर सांस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखिमात्रै सुरु हुने भएको छ ।
शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सवस्थलमा परेको असर तथा केही तयारी बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पौडेल र महोत्सवका सचिवालय संयोजक एवम् समितिका सचिव बाबुराम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा महोत्सव १६ गतेदेखिमात्रै सुरु हुने उल्लेख गरिएको छ ।
मूल संयोजक पौडेलले महोत्सवको मिति सरेका कारण महोत्सवमा आकर्षणको रुपमा जनजातिको सांस्कृतिक घर, बीसहजारी ताल, मालिका मन्दिर निर्माण गरिने बताए । त्यस्तै चर्चित र्यापर भिटेन, बाल नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगितासमेत महोत्सवमा थप गरिएको उनको भनाइ छ ।
भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिने मूल संयोजक पौडेलले बताए । फागुन १६ देखि सुरु गरेर महोत्सव २५ गतेसम्म जारी रहने सचिवालय संयोजक बाबुराम गैरेले बताए ।
सो महोत्सवमा अटोसम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्था गरी २५० भन्दा बढी स्टल रहने गैरेले बताए ।
महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केही रकम निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध रंगशालालाई समेत प्रदान गर्ने लक्ष्य आयोजकको छ ।