धादिङ- धादिङमा आज बिहान टायर पड्किएर ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान ३ः२० बजेको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित पृथ्वी लोकमार्गमा वीरगञ्जबाट बनेपातर्फ जादै गरेको ना ५ ख ३७७७ नं को शालिमार सिमेन्ट बोकेको ट्रक सडकबाट अन्दाजी एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

टायर पड्किएर आफैँ अनियन्त्रित भइ नदीमा खस्दा ट्रकका चालक मकवानपुर भीमफेदी गाउँपालिका २ भैंसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

चालक थोकरको उपचारको क्रममा आज बिहान ५ः१० बजेको समयमा गजुरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका सहचालक सप्तरी रुपनगर बस्ने १८ वर्षीय राजेश विकको धादिङस्थित गजुरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया