पोखरा- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै घरबाट कमिसनको सेटिङ हुने गरेको आरोप लगाएका छन् ।

उनले ओलीका प्रियपात्र पूर्वसञ्चारमन्त्री एवं प्रवक्ता गोकुल बास्कोटाले ओलीकै घरमा बसेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे ७० करोड कमिसनको डिलिङ गरेको दाबी गरे ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन तथा जनसंगठन समायोजन कार्यक्रमको शनिबार पर्वतमा उद्घाटन गर्दै डा भट्टराईले सो कुरा बताएका हुन् । कमिसन सेटिङ अडियो बाहिरिएपछि हाल राजीनामा दिएका बास्कोटा अहिले पनि ओलीकै घरमा बस्छन् भनेको सुनेको उनले बताए ।

सार्वजनिक भएको अडियोबारे ओलीलाई दुई महिनाअघि नै थाहा भएर पनि चुप लागेर बस्नु कमिसनको खेलमा ओलीको संग्लनता भएको डा भट्टराईले आशंका व्यक्त गरे । उनले भने, ‘बाँस्कोटा एक्लैले यो आँट गरेका छैनन्, घटनामा ओली चोखो छैनन्, चुकेकै छन् । गहन अनुसन्धान जरुरी छ । भ्रष्टाचार अन्त्य नगरेसम्म सुशासन सम्भव छैन ।’

प्रधानमन्त्रीलाई ओलीलाई थाहा हुनुपर्ने हो, आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ भने डा भट्टराईले आरोप लगाए । ‘ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेर सुशासन र समृद्धि आउँदैन, भ्रष्टाचार अन्त्यका लागि समाजवादी आन्दोलन जरुरी छ’, उनले भने ।

एनसेलकाण्ड, वाइडबडी, यतिकाण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि !, पापको घैँटो फुटेको त हामीले देखिरहेका छौँ भन्दै आन्दोलनका लागि पार्टीमा संगठित हुन उनको आग्रह थियो । काँग्रेस पनि उस्तै भएकाले प्रमुख प्रतिपक्षी भए नि बोल्न नसक्ने भएकाले आन्दोलनको अगुवाई समाजवादी पार्टीले गर्नुपर्ने भट्टराईले जोड थियो ।

तपाईको प्रतिक्रिया