काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्रीको समेत संलग्नता देखिएको भन्दै पूर्वप्रशासक आनन्दराम पौडेल र पत्रकार तथा भ्रष्टाचारविरोधी अभियन्ता प्रेमबहादुर शाही (प्रेम कैदी)ले आइतबार अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका साथै नेपाल टेलिकमको फोरजी विस्तार, भू–उपग्रह खरिद, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा पनि अनियमितता भएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीसहित निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण विभागका महानिर्देशक विकल पौडेलविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
प्रधानमन्त्री ओलीकै संरक्षणमा बाँस्कोटाले ठूलो रकम कमिसनका लागि बार्गे्निङ गरेको देखिन आएकाले अख्तियारमा उजुरी हालेको कैदीले बताए । ‘गोकुल बाँस्कोटा एक्लैले यति ठूलो मोलमोलाई गर्न सक्दैनन, उनलाई प्रधानमन्त्रीको संरक्षण देखिन्छ, उनले भने, ‘डेढ महिना पहिल्यै अडियो रेकर्ड पाएर पनि प्रधानमन्त्रीले उल्टै बाँस्कोटाको प्रशंसां गर्नुले यी सबै भ्रष्टाचारका घटनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको प्रष्ट हुन्छ ।’
अख्तियारले तत्काल छानबिन अगाडि बढाउनुपर्ने माग गर्दै उनले अन्यथा अख्तियारप्रतिको विश्वास ह्रास हुने बताए । ‘अख्तियारले ठूला नेताहरुलाई अनुसन्धानको दायरामा ल्याउनै सक्दैन भन्ने आमगुनासो छ, भ्रष्टाचार गरे अख्तियारले कसैलाई पनि छाड्दैन भन्ने सन्देश दिन पनि यो तत्काल अनुसन्धान गरिनुपर्छ’, उनले भने ।
प्रधानमन्त्री ओलीसहित चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०६९ को दफा ३, ६, ८, २०, २१ र २२ को कसुर गरेको आरोप लगाइएको छ ।