अजित अधिकारी
काठमाडौँ- फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि निकुञ्ज ऐन संशोधनको मागसहित आमरण अनशन बस्ने उद्घोष गरेपश्चात् नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताबाटै निकास निस्कने आश्वासन दिएपछि माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले अनशन स्थगित गरेका थिए ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधनसहितको एजेण्डा लिएर काठमाडौँ गएका मेयर ढकाल नेतृत्वको टोलीले नेकपा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको छ । राष्ट्रिय निकुञ्ज ऐन संशोधनको मागसहित अनशन बस्ने घोषणा गरेका ढकालले पार्टीको दबाबपछि अनशन स्थगित गरेका थिए ।

सोही विषयमा छलफल र बहस गर्न माडीका समस्या र विभिन्न मागहरु लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटको लागि प्रतिनिधि मण्डल काठमाडौँ गएको हो । आइतबार अध्यक्ष प्रचण्डसँग निकुञ्ज ऐन संशोधनसहित कसरादेखि वनकट्टासम्म बाटोको गुणस्तरीय स्तरोन्नति, सुविधा प्राप्त बाटो चौबीसै घन्टा संचालन गर्नेबारे छलफल भएको नेकपा माडी कमिटीका अध्यक्ष प्रभुप्रसाद महतोले बताए ।

प्रतिनिधि मण्डलले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग पनि भेट गरेको छ। सोमबार प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको महतोले जानकारी दिए ।

प्रतिनिधि मण्डलमा मेयर ढकालसहित उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा बागमती प्रदेश सदस्य ओमनाथ पाण्डे, माडी इन्चार्ज प्रेमराज तिमिल्सिना, माडी नगर सचिव नारदमणि पौडेललगायतका नेताहरुको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया