पुनम लामिछाने/शंकर श्रेष्ठ
चितवन- गृहमन्त्री रामबहादुर थापा बादलले आउँदो चुनावमा चितवनबाटै उमेदवारी दिने बताएका छन् ।

पूर्वी चितवनको उदयपुर सामुदायिक वनमा पर्यटनको विकासका लागि स्थापना गरिएको उदयपुर पार्क तथा बाल उद्यानको उद्घाटन गर्दै उनले आफू चितवनका हरेक जनतालाई फेरि भोट माग्नमात्र नआई हरेक कुरामा साथ र सहयोग गने वचन दिँदै निवाचनमा उठने संकेत गरेका हुन् ।

‘क्षेत्र नम्बर २ मेरो निर्वाचन क्षेत्र हो, मैले यसअघि यही क्षेत्रबाट निर्वाचित भइसकेको छु। हाल म तपाईंहरुकै क्षेत्रको प्रतिनिधिको रुपमा राष्ट्रियसभामा गएको हुँ’-उनले भने ।

गत निर्वाचनमा उनले अन्तिम समयमा पार्टीको निर्णयका कारण यो क्षेत्रबाट नउठे पनि आगामी चुनावमा यस क्षेत्रबाटै उठ्ने स्पष्ट गरेका हुन् ।

उनले विगतदेखि जनताको मागअनुसारका विकास निर्माणमा सक्रियतापूर्वक लागिरहेको बताए । चितवन क्षेत्र नम्बर २ लाई औद्योगिक र पर्यटकीय दुवै दृष्टिले विकास गर्नुपर्छ भन्दै आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने उनले बताए । यस क्षेत्रका लागि आवश्यक प्रहरी चौकी, चौकी स्तर उन्नतिलगायतका काम तत्कालै अगाडि बढाइरहेको उनले बताए ।

जुटपानी प्रहरी चौकी यसैको उदाहरणको रुपमा लिँदै एक वडा एक चौकी र एक नगर एक इलाका प्रहरी कार्यालयसमेत जुटपानीलाई ईलाकामा स्तर वृद्धि गर्ने र शक्तिखोरलगायत अन्य ठाउँमा पनि थप प्रहरी चौकी विस्तार गर्ने उनको भनाइ थियो ।

सुरक्षाबिना विकास असम्भव भएकाले देशैभरमा प्रहरीको जनशक्ति बढाउने र प्रहरीको आत्मबल बढाउने योजना विस्तार गरेको बताए । सुरक्षाकर्मीहरुले नागरिकलाई परेका दुःखमा चौकीदारको रुपमा सहयोगी भूमिका खेल्नुपने र इमानदारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया