
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक काटेर मनाएपछि सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ ।
यसै सन्दर्भमा नेकपा स्थायी कमिटीका सदस्य भीम रावलले नेपालको नक्सा बनाएको केक काटेर मनाइएको जन्मदिनको विरोध गरेका छन् । सोमबाट ट्वीटमार्फत् ओलीले भड्किलो जन्मदिन मनाएको भन्दै विरोध जनाएका हुन् ।
उनले ट्वीट्मा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना । यो मनन गर्नु भने उचित हुन्छ (केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौँ, काटेर खान मिलेन । अझै समृद्धिको लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन । पार्टी निर्णयले झनै मिल्दैन ।’