-ध्रुवराज लामिछाने
चितवन- साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सापकोटाले तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसहित सम्पूर्ण सहभागीहरुलाई चितवनमा भव्य स्वागत गरेकी छन् ।

कार्यक्रममा उपमेयर जागेश्वरी चौधरीलगायत प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, नेकपा जिल्ला नेता लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, वडा नं ३ का अध्यक्ष दिवाकर ढकालसहित १७ वटै वडाका अध्यक्ष एवम् कार्यपालिका सदस्य, लेखा अधिकृत रमेश बस्याल, प्रेस सल्लाहकार, बीपी गौतम र पर्यटन प्रर्वद्धन समिति सदस्य गरी ३२ जनाको टोली सम्मिलित थिए ।

चितवनको पोखरा बसपार्कस्थित होटल सतनचुलीमा भएको सो कार्यक्रममा चितवन नवलपुर पानी उद्योग संघ तथा सरसफाइ र वातावरण संस्था वे ग्रुपको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल वोटल वाटर उद्योग संघ केन्द्रीय उपाध्यक्ष सोमप्रसाद काप्रीले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणीले वे ग्रुपबाट आफू प्रभावित रहेको र तिलोत्तमा नगरपालिकाको सरसफाइ अभियान देखेर धेरै खुसी भएको जानकारी दिइन् ।

रुक्मिणीले समृद्ध नेपाल, सफा नेपाल बनाउने उद्देश्यले साइकल र सरसफाइ अभियानमा लागेको र यसलाई सफल बनाउन कुलका ससाना बालबालिकाहरुबाट सुरु गरेको जानकारी दिइन् ।

वे ग्रुपका अध्यक्ष भोजराज कँडेलले साइकल र सरसफाइमा रुक्मिणीले गरेको कामको प्रशंसा गर्दै वे ग्रुपले समाजमा सरसफाइका साथ यस्ता अभियन्ताहरुलाई सहयोग गर्ने भावना व्यक्त गरे । यस कार्यक्रमले तिलोत्तमा नगरपालिका र भरतपुर महानगरबीचको सम्बन्ध अझै उच्च रहने बताइन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका मेयर वासुदेव घिमिरेले साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सापकोटाको कार्यको प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई बृहतरुपमा अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा मेयर घिमिरेले वे ग्रुप टोलबाट सुरु भई अहिले राष्ट्रव्यापी भएकोमा बधाई दिँदै तिलोत्तमा नगरपालिका हातेमालो गर्न तयार रहेको जानकारी दिए ।

आफ्नो टिम आइतबारबाट विभिन्न स्थानमा भ्रमण गर्दै लक्षित भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन बाह्य तथा आन्तरिक पर्यटनलाई प्रर्वद्धन गर्न सफल रहेको विश्वास लिएको जानकारी दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुखलाई साइकल अभियन्ता रुक्मिणी सापकोटा तथा वे ग्रुपका अध्यक्षले संयुक्त रुपमा चितवनको एकसिंगे गैँडा मायाको चिनो स्वरुप प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया