चितवन- नेपाली काँग्रेस चितवनले सोमबार घोषणा गरेका आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरिएको जनाइएको छ ।

माडीवासीको मागलाई लिएर आमरण अनशनरत माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका मागहरुको सुनुवाइका लागि काँग्रेस चितवनले जिल्ला बन्दसहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो । ती आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही फागुन ७ गतेदेखि अनसनरत पौडेलको मागहरुप्रति जिल्लाका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाइसकेको र माग सुनुवाइका लागि संघीय सरकारमा डेलिगेसन जाने निर्णय भएसँगै काँग्रेस चितवनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

अनशनरत पौडेलको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई सोमबार भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । उनको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।

पौडेलले उठाएका मागहरुप्रति ऐक्यबद्धता जनाउँदै सर्वदलीय बैठकले उनको जीवनरक्षा गर्न सरकारलाई आग्रह पनि गरेको छ ।

पौडेलले उठाएका माडीवासीका मागहरु जायज भएकोले तत्काल समस्याको समाधान गर्न बैठकमा सहभागी नौ राजनीतिक दलहरुको सुझाव छ । पौडेलका मागहरुप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीले ऐक्यबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया