चितवन- नेपाली काँग्रेसका नेता एवम् संसदीय दलको कार्यालयका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीका आसपासमा रहेका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् । उनले यसको उदाहारण प्रधानमन्त्रीका विश्वास पात्र तथा सरकारका प्रवक्ताको सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी अडियो रेकर्डले पुष्टि गरेको बताए ।

उनले भने “सरकारले अनियमितता बढायो । प्रधानमन्त्री भ्रष्टाचारप्रति शून्य सहनशीलता छ भन्नुहुन्छ, भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्नुहुन्छ । तर, उहाँका आसपासमा रहेका व्यक्तिहरुनै भ्रष्टाचारमा लिप्त छन् ।”

उनले थपे, “पछिल्लोपटक सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्रीले जुनखालको अडियोमा कुरा गरेको समाचार बाहिर आयो र त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । ”

मन्त्रिपरिषद्ले गर्ने निर्णयमा प्रधानमन्त्रीको संलङ्नता, जानकारी र चाहनाअनुसार मन्त्रिपरिषद्ले निर्णय लिने भन्दै उनले यस प्रकरणमा संलङ्न सबैलाई कारबाही हुनुपर्ने काँग्रेसको धारणा रहेको बताए । यस विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।

नेता खाँणले फरक प्रसंगमा बोल्दै माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति पार्टीको संसदीय दल र केन्द्रले समर्थन गरेको बताएका छन् । भरतपुर अस्पतालमा उनलाई आज भेटे गरेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अबिलम्व उनको जीवनरक्षाका लागि पहल गरी मागहरु सुनुवाइ गर्नुपर्ने बताए ।

माडीका आमजनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उनको अनशन भएको भन्दै संसद् पूर्ण रुपमा चलेपछि यस विषयमा काङ्ग्रेसले संसद्मा विषयवस्तु उठान गर्ने बताए । उनले भने“जुनखालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस भनेर अनशन बस्नु भएको छ । त्यसमा हाम्रो समर्थन छ ।”

पौडेल फागुन ७ गतेबाट माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने मागहरु राखेर आमरण अनसनमा बसेका छन् । उनको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । पौडेललाई भेट्न खाँण चितवन आएका हुन् ।

तपाईको प्रतिक्रिया