अजित अधिकारी
चितवन- माडीवासीको हकहितका लागि सात सूत्रीय मागसहित फागुन ७ गतेदेखि अनशनरत माडी नगरपालिका वडा नं १का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले मंगलबार बेलुकीेदेखि अनशन तोडेका छन् ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ को संशोधनसहित आमरण अनशनमा बसेका पौडेलको मागप्रति जिल्लाका सबै दलले ऐक्यबद्धता जनाएका थिए ।

फागुन ७ गते अनशन बस्ने घोषणा गरेका मेयर ठाकुरप्रसाद ढकाललाई नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र छलफलबाटै समस्याको निकास निस्कने जनाएपछि ढकालले अनशन स्थगित गरेका थिए ।

मेयर ढकाललाई फागुन १२ गते शीर्षस्थ नेताहरुले वार्ताका लागि बोलाएपछि मेयर ढकालको नेतृत्वमा उक्त टोली काठमाडौँ गएको थियो । माडीवासीको मागहरुका विषयमा बहस र छलफल भएपछि माडीवासीको समस्या सम्बोधन गर्न नेताहरुले प्रतिबद्धता जनाएका छन् ।

साथै, माडीवासीको माग सम्बोधनको प्रक्रियामा रहेकाले भरतपुर अस्पतालमा उपचाररत अनशनरत पौडेललाई नेकपा अध्यक्ष प्रचण्डले टेलिफोनबाट अनशन तोड्न आग्रह गरेपछि वडाध्यक्ष पौडेलले जुस पिएर अनशन तोडेका हुन् ।

भरतपुर महानगरपालिकाकी मेयर तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहाललगायतको उपस्थितिमा पौडेलले अनशन स्थगित गरेका हुन् ।

पौडेलको मागको सम्बोधन हुनुपर्नेलगायतका मागहरू राखेर उनको समर्थनमा कांग्रेस चितवनले आन्दोलनका विभिन्न कार्यक्रमहरु राखिएकोमा उनको अनशन स्थगित भएसँगै आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएका छन् ।

तपाईको प्रतिक्रिया