चितवन- बाग्मती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ ।
यसका लागि भौतिक विकास तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा रु ४८ करोड ४० बजेट विनियोजन गरेको जनाएको छ । सीमान्तकृत तथा लोपोन्मुख जातिका कूल एक हजार ३८३ वटा पक्की आवास निर्माण गरिने योजनासहित मन्त्रालयले सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
सहरी विकास तथा भवन कार्यालयले लक्षित वर्गका लागि मकवानपुरका ६५० तथा चितवनका ७३३ गरी करिब एक हजार ३८३ परिवारलाई घर आवास बनाउने प्रक्रिया अगाडि बढाएको हो ।
सो कार्यालयले ती दुवै जिल्लाका सहरभित्रका चेपाङ राउटे पहरी माझी, बोटे, तथा दलित समुदायका लागि तक्षित गरी सो योजना ल्याएको जनाएको छ ।
प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार तोकिएको छ । भूकम्प प्रतिरोधात्मक शौचालय र दुई कोठे घर निर्माण गर्ने योजनाअन्तर्गत १५ प्रतिशत लक्षित समुदायका लागि निर्माण गर्न लागिएको बताइएको छ ।
कार्यालयका अधिकृत मनोज लामिछानेको अनुसार चालु आवमा आवास निर्माणका लागि छनोट प्रक्रिया हुने र आउँदो आर्थिक वर्षमा सम्पन्न हुने बताइएको छ ।
कार्यालयद्वारा जारी सूचनाअनुसार कागजपत्रलगायतका सही विवरण पेश गर्नेलाई मात्र आवास निर्माण गर्ने बताइएको छ । उता लक्षित भूमिहीनलाई जग्गाको व्यवस्था भएमात्र आवास निर्माण गरिदिने जनाइएको छ । यस कार्यक्रमले मकवानपुरका अति लोपोन्मुख वनकरिया, चेपाङलगायतका जाति उत्साहित भएका छन् ।
यसैबीच, वाग्मती प्रदेश सरकारले प्रदेशमा ४७ वटा प्रहरीचौकी निर्माण गर्न लागेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत आवदेखि सुरु गरेको निर्माण कार्यमा सातवटा भवन निर्माण भइसकेको जनाएको छ ।
बाँकी निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको र छिटो निर्माण सम्पन्न गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए । यस निर्माणले प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन कायम गर्ने कार्यमा सहयोग पु¥याउने मन्त्रालयले जनाएको छ ।