चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका २ वडा कार्यालयले दूधको उत्पादन बढाउन र पशुपालनको विकास गर्न किसानमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पशुपालन गर्ने इच्छा भएका र आर्थिक अभावका कारण गाईभैँसी किन्न नसकेका किसानहरुलाई गाई दिने तथा व्यावसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरुका लागि घाँसको बीउ, गोठमै पुगेर स्वास्थ्य परीक्षण र खोपको कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोहीअनुसार वडा कार्यालले मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी वडाभित्रका पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँसको बीउ र सुत्केरी पशुलाई पोषण भत्ता वितरण गरेको छ ।

पोषण भत्ता भने रत्ननगर नगरपालिकाले वितरण गरेको हो । वडा कार्यालयमा गएिको कार्यक्रममा वडाभित्रका पशुपालक किसानहरुलाई ५ किलोदेखि एक क्वीन्टलसम्म सुडान जातको घाँसको बीउ वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर पाख्रिन, कार्यपालिका सदस्य निर्मला खड्का, कृषि तथा पशु विकास समितिका अध्यक्ष किशोर बगालले किसानहरुलाई घाँसको बीउ हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष पाख्रिनले गत आर्थिक वर्षमा किसानहरुलाई गाई प्रदान गरिएको र चालु आर्थिक वर्षमा वडा बजेटबाट ५० प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको बताए ।

त्यसैगरी वडाभित्र रहेको कन्चन दुग्ध उत्पादक सहकारी संस्थाका दूध बिक्री गर्ने १८ जना किसानका पशुहरुलाई सुत्केरी भत्ता वितरण गरिएको नगरपालिकाका पशु विकास अधिकृत शालिकराम पौडेलले जानकारी दिए ।

कृषि तथा पशु विकास समितिका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुकमाया विक, ठूलाकान्छा तामाङ, समाजसेवी श्रीकृष्ण घिमिरेलगायतको सहभागिता रहेको थियो ।

कार्यपालिका सदस्य निर्मला खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रम कृषि तथा पशु विकास समितिका सचिव जनकराज पन्तले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया