काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद् थापाले प्रधानमन्त्रीको बैधता र योग्यता गुमेको भन्दै राजीनामा माग गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र देशको हितका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । ‘संख्या तपाईंसँग होला तर शासन गर्ने वैधानिक योग्यता, क्षमता तपाईंले गुमाउनु भएको छ,’ उनले भने, ‘त्यसैले सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
थापाले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू तपाईंका पार्टीका कार्यकर्ता ठूलो स्वरले बोल्न सक्दैनन् । तर, यही संसद्को लवीमा भेट्दै गर्दा कहिलेकाहीँ कानेखुसी गरेर हामीलाई भन्छन्– हाम्रो प्रधानमन्त्री पहिले–पहिले माक्र्सवादी जस्तो देखिनुहुन्थ्यो । बीचमा समाजवादी जस्तो देखिन थाल्नुभयो । आज–भोलि यताबाट हेरे पनि, उताबाट हेरे पनि यतीवादीमात्रै देखिनुहुन्छ । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ?’
एमसिसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरूले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै सांसद् थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिएकोे भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘देखिँदा सुरो यथार्थमा विचरो भन्दैछन् प्रधानमन्त्रीजी तपाईंलाई, थाहा छ ?’
प्रधानमन्त्री ओलीले पूर्वराजाहरूको न्यास्रो मेटाउने गरी जन्मदिन मनाएको भन्दै सांसद् थापाले बाहिर अनेक प्रश्नहरू उठिरहेको बताए । ‘हामीलाई ०६०/०६१ को ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्नुहुन्छ । पूर्वराजा यसरी नै हिँडिबक्सनुहुन्थ्यो । आफैँ अभिनन्दन गराउन लगाइबक्सन्थ्यो,’ उनले भने, ‘विद्यार्थीहरूलाई बोलाइबक्सन्थ्यो । सबैले जय जयकार गर्थे । अनि आफ्नो छेउको भारद्वारलाई सोधिबक्सन्थ्यो एक दुई जना मान्छेहरू यताउता विरोध गरिरहेका छन् नि ?’
भारद्वारले ‘महाराज सब ठिक छ, यी एक दुई जना मानिसहरू मात्र महाराजको विरोध गरिरहेका छन्’ भनेर राजाको स्तूति गाउने गरेको किस्सा उनले सुनाए । ‘प्रधानमन्त्रीजी मात्र होइन, त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भीडभाड देखियो, तँछाड–मछाड देखियो यो देख्दै गर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरूले पूर्वराजा ज्ञानेन्द्रको भारद्वारहरूको न्यास्रो पनि मेटाइदिएका छन्,’ उनले भने ।
सांसद् थापाले प्रधानमन्त्री ओलीलाई गोकुलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो प्रकरणमा संसदमा आएर जवाफ दिन चुनौतीसमेत दिए । उनले भने, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग, छ कि छैन ?’ प्रधानमन्त्रीसँग त्यस्तो हिम्मत भए पनि नभए पनि संसद्सँग यो हिम्मत हुनैपर्ने उनले बताए । ‘ध्यानाकर्षणमात्रै होइन, सभामुख महोदय संसद्ले यो सामथ्र्य राख्नैपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीलाई डाँडाकाँडा र तालतलैया डुलेर बस्नुभन्दा संसदमा आएर जवाफ दिन उनले सुझाव दिए । ‘यहाँ उभिनुपर्छ, प्रश्नको सामना गर्नुपर्छ,’ उनले भने, ‘हामी यहाँ बसेर निम्छरो होइन, सही प्रश्नहरू सोध्ने छौँ ।’
प्रतिनिधिसभा बैठकमा सत्तारूढ दलकै सांसद शेरबहादुर तामाङले राज्यले धान्न नसक्ने गरी साधारण खर्चको अनुपात बढ्दै गइरहेको भन्दै महँगो शासकीय स्वरूप परिवर्तन गर्नुपर्ने प्रस्ताव गरे । बैठकको विशेष समयमा बोल्दै उनले राज्यले धेरै ठूलो धनराशि खर्च गरेर पाल्नुपर्ने राज्य संरचनालाई घटाउनुपर्ने तर्क गरे ।
सांसद् तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेगरी संविधान संशोधन गरिनुपर्ने आवश्यकतासमेत औंल्याए । संविधान बनाउने क्रममा शासकीय स्वरूपका सम्बन्धमा दलहरू चुकेको दाबी गर्दै उनले अब राष्ट्रपतीय शासन प्रणालीबारे बहस गर्नुपर्ने बताए ।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जानका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको १५१ सदस्यीय एक सदनात्मक व्यवस्था गर्नुपर्ने, संविधानको प्रस्तावनाप्रति प्रतिबद्ध रहँदै प्रदेशको संरचना घटाएर समन्वयकारी निकायको रूपमा परिणत गर्नुपर्ने, स्थानीय तहको संख्या घटाएर ७५३ बाट ३५० कायम गर्नुपर्ने बताए । काठमाडौं उपत्यकालाई बृहत् काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर प्रत्यक्ष निर्वाचन गर्ने विधि बनाउनुपर्ने प्रस्ताव पनि उनले गरे ।