चितवन- कम्प्युटर फ्याकल्टी एशोसियसन अफ नेपालका अध्यक्ष हरिप्रसाद सापकोटासहितको टोलीले पाठ्यसंरचना सुधार गर्न राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा शाखाको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ ।
विद्यालय शिक्षाको पुनःसंरचना गर्न नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास गरी शैक्षिक सत्र २०७७ देखि लागू गर्ने भनिएको पाठ्यसंरचनामा कक्षा ११ र १२ का विद्यार्थीले ऐच्छिक विषयका रुपमा समेत कम्प्युटर विज्ञान विषय पढ्न नपाउने व्यवस्था लागू गरेकोमा कम्प्युटर फ्याकल्टी एशोसियसन अफ नेपाल (सिक्यान)ले घोर आपत्ति प्रकट गरेको हो ।
अध्यक्ष सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त व्यवस्था सच्याउन जोडदार रुपमा माग गरेको छ । सिक्यानले उक्त व्यवस्था सुधार गर्न एक साताभित्र आवश्यक पहल नगरे कक्षा ११ र १२ को प्रयोगात्मक परीक्षामा बाह्य परीक्षकका रुपमा नगई असहयोग गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।