काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने तीन सदस्यमध्ये मनोनीत भएका अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिँदै छ ।

प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाए पनि कार्यदल अहिले नरहेको र त्यो क्रियाशील नहुने जानकारी पनि दिए ।

“यसअघि बसेको सचिवालय बैठकमा त्यस प्रकारको कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बने पनि संविधान संशोधन आवश्यकतानुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”, उनले भने, “तर अहिल्यै नै संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन । त्यसकारण अब कार्यदल छैन ।”

तपाईको प्रतिक्रिया