केदार शर्मा
चितवन- टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनको भरतपुरमा हुने भएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त रियालिटी शो को पहिलो अडिसन आगामी चैतको पहिलो साता भरतपुरमा गर्न लागिएको हो ।

‘एसआरबीएन’ मिडियाले सञ्चालन गर्न लागेको ‘द लिडर’ को पहिलो शो चितवनबाट सुरु गर्ने तयारी भइरहेको र स्थानको रुपमा भरतपुरलाई छनोट गरिएको द लिडरका प्रोड्युसर रमेश न्यौपानेले जानकारी दिए ।

कार्यक्रमको निर्णायकहरुमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, बीबीसी नेपाली सेवाका पूर्वप्रमुख एवम् नेता रवीन्द्र मिश्र, विद्वान नेताहरु प्रदीप गिरि र प्रदीप नेपाल रहने छन् ।

कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी कुल १०० प्रतिस्पर्धीलाई काठमाडौँ ल्याएर फाइनलमा प्रवेश गराइने न्यौपानेले जानकारी दिए ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ । कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने दाबी पनि आयोजकको छ ।

पहिलो अडिसन चितवनको भरतपुरमा सकिएलगत्तै इटहरी, जनकपुर, पोखरा, बुटवल र धनगढीमा हुनेछ । उपत्यका बाहिरका पाँच स्थानहरुमा अडिसन सकिएपछि काठमाडौँमा आएर पहिलो चरणको अडिसन सकिने ‘द लिडर’ का प्रोड्युसर न्यौपानेले बताए । कार्यक्रममा सहभागी हुन गुन्द्रुक एपमार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया