चितवन । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ । सामाजिक यथार्थवादी विषय वस्तु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो ।

अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । “हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ”, उनले भने ।

‘कुमाता’मा सङ्ग्रहित दश कथा फरकफरक विषयवस्तुका छन् । कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेको कथाकार पराजुलीले जानकारी दिए । “कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छरछिमेक र समाजमा घटेका घटनाजस्ता लाग्छन्, त्यसैले यो सङ्ग्रहभित्रको कथा हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भने ।

गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

वरिष्ठ सहित्यकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएको बताएका छन् । उनी लेख्छन्, “अधिकांश कथामा पुरुष वैदेशिक रोजगारीमा गएका, विश्वासघात गरेका देखाइएका छन् भने नारी पात्रले छिटो विश्वास गर्ने गरेका, धोका पाएका र यौनकुण्ठा देखाइएका छन् ।”

कथाका विषयवस्तु र परिवेशलाई सहज र सम्प्रेषणीय बनाइएकाले पनि पराजुलीका कथाहरु आधुनिक नेपाली कथाको मार्गमा नयाँ गोरेटो बनेको पनि उनले बताए ।

कूल १० कथा र ११२ पेजको कथासङ्ग्रहको मूल्य रु २०० छ । पराजुली झण्डै दुई दशकदेखि गोरखापत्र दैनिकमा आबद्ध छन् भने डेढ दशकदेखि स्थानीय चितवन पोष्ट दैनिकमा कार्यरत छन् । पराजुलीले राष्ट्रिय र स्थानीयपत्र पत्रिकामा समय सन्दर्भअनुसारका विषय वस्तुमा लेखसमेत लेख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया