काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र विवाद र समस्या आउनु सामान्य कुरा भएको बताएका छन् ।
नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने बताए । कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भुमरी परिराख्ने र ठक्कर खानु सामान्य हुने र यसलाई सबैले सामान्य रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीभित्र देखिएका विवादका कारण पार्टी नै विभाजन र विघटन नहुने दाबीसमेत गरे । अहिलेको आवश्यकताअनुसार देशको नेतृत्व गर्ने पार्टीको रूपमा विकास गर्न पनि विवाद, संघर्ष, भुमरी र ठक्कर खानेजस्ता प्रक्रिया सामान्य हुने उनले बताए । यसलाई एक ढिक्का भएर सामना गर्नुपर्ने र समाधान खोज्नुपर्ने उनले प्रष्ट पारे ।
‘कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरीजस्तो होइन, मलाई लाग्छ कमरेडहरूले यो कुरा पनि बुझ्नु भएको होला,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको परिभाषा गर्दा यो द्वन्द्वात्मक भौतिकवादी, यसले संघर्षमा विश्वास गर्ने, बहसमा विश्वास गर्ने भएको हुनाले यो कम्युनिष्ट पार्टी एउटा गड्गडाउने खोलाजस्तो, यो कयौं ठक्कर खाँदै, भत्काउँदै, फेरि भुमरी पर्दै, फेरि अगाडि बढ्दै महासागरतिर लम्कने, साम्यवादतिर लम्कने पार्टी हो कम्युनिस्ट पार्टी ।’
कतिपयलाई पार्टीभित्र कुनै विवाद नहोस्, सबै नेता मिलेर अघि बढून् भन्ने लागे पनि त्यो सम्भव नहुने उनले बताए । ‘हामी त्यसैको निम्ति कोसिस गर्ने हो, सबै एकताबद्ध हुन कोसिस गर्ने हो,’ उनले भने, ‘तर, जुन दिन यो साँच्चै शान्त, साँच्चै एकजुट, साँच्चै विवादरहित, साँच्चै त्यस्तो भयो, त्यो दिनदेखि पार्टी चाहिँदैन ।’
माक्र्सदेखि कम्युनिस्टका विश्व नेताहरूले ‘जुन दिन त्यस्तो स्थिति आउँछ, विवादरहित बन्ने दिन आउँछ, त्यो दिन साम्यवाद हो, साम्यवादमा कम्युनिस्ट पार्टी रहँदैन, चाहिँदैैन’ भनेको पनि उनले स्मरण गराए ।
दुश्मनका गोलीले लडाउन नसेको कम्युनिस्टहरू सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफैँ सकिने गरेकोले त्यसतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । पार्टी मूलभूतरूपमा विचार, विधि र नेतृत्वको संयोजनबाट चल्नुपर्ने उनको भनाइ थियो ।