
चितवन- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई नै मनोनीत गर्ने बताएका छन् । प्रेस संगठन चितवनले भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने दाबी गरे ।
पत्रकारको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिनँ, उहाँले गर्नुहुन्छ । मैले बुझेको त्यति हो ।”
प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ ? भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, “म अहिले त्यतातिर जानै चाहन्न । मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन ।”
आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले छ महिनासम्म सांसद् नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गरे ।
संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भएमात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए ।
उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए । उनले भने, “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।”
प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उनले मैले ल्याएर केके गरें भन्ने तपाईंहरुलाई थाहा नै छ नि भने । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रियामात्र भएको उनले टिप्पणी गरे ।