बुटवल । टेलिभिजन रियालिटी शो ‘द लिडर’को अडिसन प्रदेश नम्बर ५ को सदरमुकाम बुटवलमा पनि हुने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । एसआरबीएन मिडियाले सञ्चालन गर्ने उक्त रियालिटी शोमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले प्रस्तुति दिनेछन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसआरबीएन मिडियाका प्रमुख तथा कार्यक्रमका प्रोड्युसर रमेश न्यौपानेले बुटवलमा अडिसन गर्ने निश्चित भएको भन्दै स्थान र मितिबारे काठमाडौँ पुगेर जानकारी दिने बताए ।

उनले ‘द लिडर’ एउटा मनोरञ्जनात्मक कार्यक्रममात्रै नभएर देशको भविष्यसँग जोडिएको विषय भएको प्रष्ट पार्दै यसमा वाक कला, समस्या समाधानको क्षमता, जागरुकता, देश विकास र नेतृत्वको योजनासमेत समेटिने उनले बताए ।

कार्यक्रमको निर्णायकहरुमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, बीबीसी नेपाली सेवाका पूर्वप्रमुख एवम् नेता रवीन्द्र मिश्र, विद्वान नेताहरु प्रदीप गिरि र प्रदीप नेपाल रहने छन् ।

कार्यक्रम न्यूज २४ टेलिभिजनका साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी कुल १०० प्रतिस्पर्धीलाई काठमाडौँ ल्याएर फाइनलमा प्रवेश गराइने न्यौपानेले जानकारी दिए ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ । प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ । कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने दाबी पनि आयोजकको छ ।

पहिलो अडिसन चितवनको भरतपुरमा सकिएलगत्तै इटहरी, जनकपुर, पोखरा, बुटवल र धनगढीमा हुनेछ । उपत्यका बाहिरका पाँच स्थानहरुमा अडिसन सकिएपछि काठमाडौँमा आएर पहिलो चरणको अडिसन सकिने ‘द लिडर’ का प्रोड्युसर न्यौपानेले बताए । कार्यक्रममा सहभागी हुन गुन्द्रुक एपमार्फत फर्म भर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया