
काठमाडौँ- महिलालाई बल प्रयोग गरेको प्रकरणमा महानगरीय प्रहरी प्रभाग, भैँसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक रुपमा छानबिन गर्ने भएको छ ।
नेपाली सेनाका अवकाशप्राप्त सहायक रथि हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हुँदा हेमा श्रेष्ठलाई निर्मम ढंगले लाठी प्रहार गरेपछि इन्सपेक्टर पौडेलको चौतर्फी आलोचना भएपछि
प्रहरी प्रधान कार्यालयको निर्देशनमा ललितपुर प्रहरी परिसरले छानबिन प्रक्रिया सुरु गरेको हो ।
ललितपुर प्रहरीले प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउने भएको छ । समितिको प्रतिवेदनका आधारमा पौडेलमाथि कारबाही हुने भएको छ ।
घटना प्रकरणको विषय जे भए पनि महिलालाई नियन्त्रण लिने क्रममा बल प्रयोग गर्नु गलत कार्य भएको निष्कर्ष प्रहरी अधिकृतले निकालेका छन् । छानबिन सुरु भइसकेकाले पौडेल दोषी भए कारबाही हुने ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् ।