चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित कुमरोज मध्यवर्ती सामुदायिक वनले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले कंक्रिट वाल शिलान्यास गरेको छ ।
कुमरोज सामुदायिक वनले आफ्नो वन क्षेत्रभित्रका उपभोक्ताको जनधनको सुरक्षा गर्नका लागि कंक्रिटवाल निर्माण गर्न लागिएको वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि, सरोकारवाला, राष्ट्रिय निकुञ्जका प्रतिनिधिबीच शुक्रबार कंक्रिट वालको शिलान्यास गरिएको हो ।
वनका उपाध्यक्ष सानुकाजी कुँवरले वाल निर्माणको काम जतिसक्दो छिटो गर्ने र वन क्षेत्रको सबै ठाउँमा वाल निर्माण गरिने बताए ।
वनले आगामी दिनमा उपभोक्तामैत्री र उपभोक्तालक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको वनका कोषाध्यक्ष उज्जवल बर्तौलाले जानकारी दिएका छन् ।
कुमरोज वन पछिल्लोपटक पर्यटकको लागि रोजाईको प्रमुख गन्तव्य हुने गरेको छ । वनले पर्यापर्यटनमार्फत उपभोक्ताको दैनिकी सुधार गर्दै पर्यटन हब बन्दै गएको छ । पछिल्लो समयमा हात्ती सफारी, जिप सफारी, ढुङ्गा सयर, भ्यूटावरमा बास बस्नेलगायतका पर्यटन गतिविधि सञचालन गरेको वनका सचिव श्यामप्रसाद बराकोटीले बताए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संक्षण अधिकृत गोपालबहादुर घिमिरे प्रमुख अतिथि रहेका थिए ।
त्यस्तै, खैरहनी नगरपालिका १३ का वडाध्यक्ष बालकुमार उप्रेती, १२ का वडाध्यक्ष टीकाराम तिमिल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।