
पोखरा- अन्नपूर्ण बेसक्याम्पअन्तर्गतको हिंकुचे केभ र देउरालीबिचको भागमा करिव एक महिनाअघि हिमपहिरो जाँदा बेपत्ता भएका सातजनामध्ये नेपाली गाइड सरोज परियारको शव उद्धार टोलीले शुक्रबार फेला पारेको छ ।
१२ जना समूहको एबिसी देउराली एभालेन्च रेस्क्यु टिम खडा गरेर एघार दिनअगाडि परियारका आफन्तसहितको एक टोली उद्धारका लागि उक्त क्षेत्रमा खटिएको थियो ।
प्रेमकुमार राईले व्यवस्थापन गरेको टिम बाबुराम बिकेको नेतृत्वमा विगत दश दिनदेखि उक्त क्षेत्रमा परियारको खोजीमा लागेको थियो ।
मुक्तिनाथ राईले नेतृत्व गर्ने गरी ६ जना स्टाफलाई दैनिक ज्यालादारीमा खटिएको १२ जनाको टोलीले शुक्रबार परियारको शव हिंकुचे छेउको खोला खोचबाट हिउँ काटेर निकालेको टिम संयोजक कालिदास मगरले जानकारी दिए । एकाउन्टेन्टको जिम्मा लगाएर विदेशीहरुसँग केही सहयोग जुटाउदै खोजी कार्यमा खटिएको मगरले जानकारी दिए ।
आफूहरुले उद्धारको समयमा बस्न, खान तथा उद्धार सामग्री खरिद गर्नको लागि आफैँ सहयोग जुटाउनुपरेको उल्लेख गर्दै मगरले सरकारी स्तर तथा पर्यटन सम्बद्ध संघ संस्था खोजी कार्यमा उदासीन भएको भन्दै दुखेसो व्यक्त गरे ।