चितवन- रत्ननगरमा आयोजना गरिएको बजार विश्लेषण तथा निकासी प्रर्वद्धनसम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रबार सकिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र रत्ननगर उद्योग वाणिज्य संघले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा साना उद्यमीहरुलाई बजार खोज्न सिकाइएको थियो । साना उद्यमीहरुलाई आफूले उत्पादन गरेको वस्तुको बजार खोज्न सक्ने बनाउन तालिम आयोजना गरेको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद् कृष्णप्रसाद खनाल, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र संघका अध्यक्ष रेग्मीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा सांसद् खनालले निर्यात प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । ‘किसानमैत्री योजना नभएसम्म आयात घटाउन सकिँदैन’, उनले भने, ‘त्यसका लागि सरकारले उत्पादन बढाउने खालका योजना तर्जुमा गर्नुपर्छ ।’

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक राणाले स्थानीयस्तरमा उत्पादित भएका वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म बजारीकरण गर्न सक्ने विषयमा तालिममा सहजीकरण हुने बताए । तालिममा २२ जना साना उद्यमीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा केन्द्रले बनाएको व्यापार सूचना पोर्टरको विषयमा अनुशिक्षण कार्यक्रमसमेत गरिएको छ । पोर्टरमा व्यापारीले आफ्नो व्यवसायको प्रोफाइल र उद्यमीले उत्पादन गरेको वस्तुको विवरण निःशुल्क राख्न सक्ने व्यवस्था रहेको केन्द्रका निर्देशक सुरेन्द्र गोगलले बताए ।

संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, सहभागीका तर्फबाट सुमित्रा पौडेल र प्रशान्त पौडेलले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया