चितवन- पूर्वी चितवनको रत्ननगरमा विद्यालयस्तरीय विपद् व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।

रत्ननगर नगपालिका वडा नं १ ले आयोजना गरेको सो कार्यक्रममा वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा बाल क्लबका अध्यक्षहरुको सहभागिता रहेको वडा सचिव सूर्यप्रसाद ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा विपद् व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक, दुर्घटना न्यूनीकरण, लागूऔषध नियन्त्रणका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी चितवनका सदस्य महेश्वर थपलिया, उपशाखा रत्ननगरका सचिव रामचन्द्र पौडेल र प्रशिक्षक अम्विका ढकालले विपद् व्यवस्थापन तथा न्यूनीकरणका उपाय, प्रहरी नायब निरीक्षक प्रकाश सिंखडा, ट्राफिक प्रहरीका हबलदार लोकबहादुर घर्ती, प्रहरी जवान रोहित खरेलले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिएका थिए ।

दुईदिने सो प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा कार्यवाहक वडाध्यक्ष बाबुराम गौतमले विद्यार्थीको माध्यमबाट विपद् न्यूनीकरण र ट्राफिक नियमको बारेमा समाजमा चेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरका सभापति गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडा सदस्य शालिकराम पराजुलीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । कार्यवाहक वडाध्यक्ष वाबुराम गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य भरथी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया