चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ११ स्थित पञ्चकन्या सामुदायिक वनको १६औँ वार्षिक साधारण सभा एक समारोहबीच शनिबार सम्पन्न गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद् एवम् प्रमुख अतिथि कृष्णप्रसाद खनालले पञ्चकन्या सामुदायिक वनलाई सौराहाको पर्यटनसँग जोड्न आवश्यक पहल भइरहेको बताउँदै सौराहा आउने पर्यटकलाई जिप सफारीमार्फत् पञ्चकन्या सामुदायिक वनमा ल्याउने योजना रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रदेश सांसद् कञ्चन खनालले सामुदायिक वनमा पर्यटन पूर्वाधार निर्माणको लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि बजेट पार्न यथाशक्य पहल गर्ने बताइन् ।

कार्यक्रममा वनका अध्यक्ष धर्मराज अधिकारीले प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम, कोषाध्यक्ष दुर्गा बरालले आर्थिक प्रतिवेदन, लेखा संयोजक यज्ञबहादुर धमलाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वनका निर्वतमान अध्यक्ष रामबाबु श्रेष्ठ, साफ गेममा तेक्वान्दोतर्फ स्वर्ण पदक विजेता रत्ननगर ११ निवासी पार्वती गुरुङ, खोखोमा रजत पदक विजेता सोही वडा निवासी विनु तामाङ र एसइईमा उत्कृष्ट अंक ल्याउने छात्रतर्फ अविनाश तिवारी र छात्रातर्फ सफलता लामालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडाध्यक्षहरु शशिभक्त न्यौपाने, केशव आचार्य, वीरबहादुर पाख्रिन, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत ढुंगाना, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ईश्वरीप्रसाद लामिछानेलगायतले मन्तव्य राखेका थिए ।

यसैगरी, नेकपाका नगर इन्चार्ज राजु अम्गाईं, नेपाली कांग्रेसका नगर सभापति रुपनराज घिमिरे, राप्रपाका नगर अध्यक्ष श्याम पोखरेल, वनका उपाध्यक्ष कृष्णप्रसाद बगाले, सल्लाहकार अर्जुन पौडेल, अनुगमन समिति संयोजक दीपकराज पौडेल, वनका पार्षद्हरु मोहनप्रसाद भट्टराई, विष्णुमाया तिवारीलगायतले बोलेका थिए ।

सचिव चन्द्रकला पनेरुले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वनका अध्यक्ष धर्मराज अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया